भैरहवामाकाे सानु डिपार्टमेन्टलको पार्किङ्ग क्षेत्रमा खुल्ला तीज उत्सव हुने भएको छ । ओके मिडिया र युनिक साउण्डको संयुक्त आयोजनामा भदौ ९ गते दिउँसाे ४ बजेदेखि राती ९ बजे सम्म  तीज उत्सव हुने आयोजकले जानकारी दिएका छन् ।.



आयोजकद्वारा आयोजित भैरहवामा पत्रकार सम्मेलनमा बोल्दै ओके मिडियाका सञ्चालक मनोरञ्जन शर्माले उत्सवमा महिला दिदी बहिनीका लागी निशुल्क प्रवेश एवम दर खुवाउने कार्यक्रम रहेको बताए । तीजमा यस क्षेत्रका दिदी बहिनीहरुलाई एकै स्थानमा ल्याएर शुभकामना साटासाट साथै मनोरञ्जन प्रदान उद्देश्य रहेको शर्माले बताए । “होटल रेष्टुरेन्टमा सिमित रहँदै आएको तीजका कार्यक्रमलाई खुल्ला रुपमा दिदी बहिनीलाई भेला गराई तीजमय वातावरण प्रदान गर्नु हो ।” उनले भने “यसले यस क्षेत्रको आर्थिक गतिविधि पनि चलायमान गराउन सहयोग पुग्ने अपेक्षा गरेका छौं ।”

कार्यक्रममा शुभाकामना सहित, तीजको महत्व, तीजमा दरखादा र व्रत बस्दा ध्यान दिनु पर्ने कुरा बारे चिकित्सकको भनाई, तीजको सौन्दर्यता, ब्यूटि टिप्स, बारे जानकारी साथै विविध साँस्कृतिक कार्यक्रमहरु रहने उनले बताए । तीज गित, तीज गीतमा नृत्य, गायन कार्यक्रम हुनेछ । यस्तै साङ्गीतिक कार्यक्रममा रेनु राना मगर, कल्पना कुशुम, आरती रुचाल, हरिकला सुनार र एएस डान्स समूहको प्रस्तुति रहनेछ । साथै फुड स्टल, तीजका सामग्री बिक्री, निशुल्क मेहन्दी, तीज कोशेली, कस्मेटिक सामान, गिफ्ट हेम्पर र दर समेत खुवाउने कार्यक्रम रहेको उनले बताए ।

कार्यक्रममा सहयोगी संस्थाका रुपमा सिद्धार्थ उद्योग वाणिज्य संघ, कृषि विकास बैंक लि।, जेसिआई सिद्धार्य लेडि नेपाल, लायन्स क्लव अफ नोबल लेडिज, आस्था उद्यमी महिला संघ, लायन्स क्लब अफ सिद्धार्थनगर लोटस्, लायन्स क्लव अफ सिद्धार्थनगर टुलिप, लायन्स क्लब अफ सिद्धार्थनगर सृजनशील, ब्यूटिसियन संघ सिद्धार्थनगर, इनरह्विल क्लव अफ लुम्बिनी, लायन्स क्लव अफ लुम्बिनी क्रिएटिभ लेडी लगायत संस्था रहेको आयोजकले जानकारी दिए ।

कार्यक्रममा साउण्ड लाइट पार्टनरका रुपमा युनिक साउण्ड, हस्पिटालिटी पार्टनरका रुपमा कौशी डाउनटाउन, ग्राफिक्स प्रिन्टिङ्ग पार्टनरको रुपमा एके ग्राफिक्स रहेको युनिक साउण्डका सञ्चालक रईस खाँनले बताए । ओयु (ओके युनिक) नामले यो समूहले यस अघि पनि भैरहवामा खाना महोत्सव सफलता पूर्वक सञ्चालन गरि सकेको छ । ९ गते हुने तीज उत्सव कार्यक्रममा पनि भैरहवाका स्थानियहरुलाई स–परिवार कार्यक्रममा सहभागीता जनाईदिन समूहले अपिल गरेको छ ।